Home News मिरुना हिट फिल्म फ्लप

मिरुना हिट फिल्म फ्लप

by Movie Club Nepal

कतिले डेब्यू फिल्मबाटै नसोचेको सफलता नाप्छन् । कसैलाई जति फिल्म गरे पनि सफलता पाउनै महाभारत पर्छ । अभिनेत्री मिरुना मगरलाई अहिले निरन्तर फिल्म असफल भएर तनाव छ । अभिनय र सुन्दरताको निकै चर्चा हुने भएता पनि उनका कुनै फिल्मले बक्सअफिसमा सफलता प्राप्त गर्न सकेका छैनन् । डेब्यू फिल्म ‘लालपूर्जा’ बाट सुरु भएको फ्लप श्रृंखला अझै बरकरार छ ।

डेब्यू फिल्ममा उनको अपोजिटमा अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की थिए । तर, फिल्मले हलमा सिन्को भाँचेन । न त उनको अभिनयकै प्रशंसा भयो । पहिलो फिल्म असफल भएपछि उनी दोस्रो फिल्म पाउनेमै सशंकित थिइन् । तर, भनिन्छ नी, ‘भाग्यमानीको भुतै कमारो ।’ दोस्रो फिल्ममा उनले अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘रोज’ मा काम गर्ने मौका पाइन् ।

यो फिल्म पनि बक्सअफिसमा असफल ठहरियो तर मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो । र, अभिनयको पनि प्रशंसा भयो । उनी आफैं पनि ‘रोज’ लाई करिअरको टर्निंङ पोइन्ट मान्छिन् । तर, निरन्तर फिल्म फ्लप हुँदा कलाकारको करिअरमा ठूलो धक्का पुग्छ, चाहे जति नै उम्दा अभिनय किन नहोस् ! मिरुना अहिले फिल्मको असफलताले करिअरलाई पार्ने असरलाई लिएर चिन्तित छिन् ।

गएको साउन २४ मा उनी अभिनीत तेस्रो फिल्म ‘साइनो’ प्रदर्शनमा आएको थियो । तर, फिल्मले दर्शकसँग साइनो गाँस्न सकेन । फलतः यसले बक्सअफिसमा पनि सुखद नतिजा हात पार्न सकेन । यो फिल्म यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । फिल्ममा प्रवेश गरेको ३ वर्षमा तीन फिल्म असफल हुँदा मिरुनालाई फिल्म क्षेत्रमा ‘अनलक्की नायिका’ भनिन थालिएको छ ।
चिनिएका अनुहारसँग स्क्रिन साझेदारी गर्दा पनि सफलताबाट विमुख उनी अब फिल्म छनोटमा गम्भीर हुनु पर्ने देखिन्छ । अभिनय राम्रो हुँदाहुँदै पनि ‘ब्याक टू ब्याक’ फिल्म असफल हुँदा गुमनाम भएका नेपाली अभिनेत्री धेरै छन् । त्यसैले एउटा कलाकारका लागि फिल्मको व्यापारिक सफलता पनि महत्त्वपूर्ण हुन्छ । फ्लप फिल्ममा ह्याट्रिक गरेकी मिरुनालाई मंसिर ६ मा आउने फिल्म ‘च च हुई’ ले राहत देला कि ? आशा गरौं ।

Related Posts

Leave a Comment