नायिका स्वस्तिमा खड्का आफ्नो करियरको सातौँ फिल्म लिएर दर्शकमाझ आउँदै छिन् । रजतपटमा उनले अभिनय गरेको सातौँ फिल्म हो ‘हजार जुनीसम्म’ । होस्टेल, लभ लभ लभ, छक्का पञ्जा २, नाई नभन्नु ल ५, जय भोले, बुलबुल फिल्ममा देखिइसकेकी छिन् ।
बुलबुलबाट स्वस्तिमाले सार्क फिल्म फेस्टिभलमा स्पेशल जुरी अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार २०७५मा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पार्न सफल भएकी थिइन् । उनले हरेक फिल्ममा भिन्न खालको चरित्र निभाएकी छिन् । फिल्म होस्टेलमा होस्टेल बसेर इन्जिनियरिङ गरिरहेकी केटी भूमिकामा देखिएकी थिइन् । उनको मुख्य भूमिका भएको पहिलो फिल्म लभ लभ लभमा विदेश जाने तयारीमा रहेकी लभर गर्लको भूमिकामा देखिएकी थिइन् ।
छक्का पञ्जा २ नक्कली विवाह गरेर अस्ट्रेलिया जाने चक्करमा रहेको चरित्र निभाएकी स्वस्तिमाले नाई नभन्नु ल ५मा दोहोरो चरित्रमा देखिएकी थिइन् । फिल्ममा उनले इलामकी केटीको भूमिका निभाएकी थिइन् । जय भोले आफूभन्दा उमेरले पाको केटाले मन पराउने युवतीको चरित्रमा देखिउकी स्वस्तिमा बुलबुलमा टेम्पो चालक विवाहित युवती जो विदेश गएका पतिको प्रतीक्षामा रहेकी चरित्रमा देखिएकी थिइन् ।
फिल्म हजार जुनीसम्म साउन ३० बाट प्रदर्शनमा आउनेछ । परिवारिक प्रेमकथामा बनेको फिल्ममा स्वस्तिमाको भूमिका कस्तो रहेको छ त्यो भने फिल्म प्रदर्शन पछि नै थाहा हुनेछ । फिल्मको ट्रेलरमा अर्की नायिका प्रियंका कार्कीलाई लुकाइएको छ । प्रियंकाको भूमिकाले स्वस्तिमाको फिल्ममा कस्तो चरित्र छ भन्ने खुल्नेछ ।